दफा ३६
निजी वनको व्यवस्थापन
(१) निजी वनको धनीले निजी वनको विकास संरक्षण व्यवस्थापन गर्न तथा वन पैदावारको उपयोग गर्न वा मूल्य निर्धारण गरी बिक्री वितरण गर्न सक्नेछ।

(२) निजी वनको धनीको अनुरोधमा उपदफा (१) बमोजिमको कामका लागि डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयले आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउन सक्नेछ।

(३) व्यावसायिक प्रयोजनको लागि निजी वन वा निजी आवादीमा रहेका वन पैदावारको सङ्कलन तथा ओसारपसार गर्नु परेमा सम्बन्धित स्थानीय तहबाट स्वीकृति लिनु पर्नेछ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यावसायिक प्रयोजनको लागि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा वन पैदावारको सङ्कलन तथा ओसारपसार गर्नु परेमा सम्बन्धित डिभिजन वन कार्यालयबाट स्वीकृति लिनु पर्नेछ।

(५) घरायसी प्रयोजनको लागि कुनै जिल्लाभित्रको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा वन पैदावार सङ्कलन तथा ओसारपसार गर्नु परेमा जुन स्थानीय तहबाट सङ्कलन तथा ओसारपसार गर्ने हो सो स्थानीय तहबाट र एक जिल्लाबाट अर्को जिल्लामा वन पैदावार सङ्कलन तथा ओसारपसार गर्नु परेमा जुन जिल्लाबाट सङ्कलन तथा ओसारपसार गर्ने हो सो जिल्लाको डिभिजन वन कार्यालयबाट स्वीकृति लिनु पर्नेछ।

(६) निजी वनको धनीलाई नेपाल सरकारले तोकिए बमोजिमको सुविधा उपलब्ध गराउन सक्नेछ।

(७) कुनै व्यक्ति, संस्था, समूह बा समुदायले तोकिएको मापदण्डको अधीनमा रही कृषि वन, जडीबुटी खेती तथा बन्यजन्तु पालन समेत गर्न सक्नेछ।